जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी



जुम्ला । जुम्लामा हिमपातसँगै चिसो अत्यधिक बढेर धाराको पानीसमेत जम्न थालेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम खलंगासहित जिल्लाको माथिल्लो भेगमा खानेपानी ल्याउन प्रयोग गरिएका पाइप फुट्न थालेको नागरिक अगुवा राजबहादुर महतले जानकारी दिए ।

जल तथा मौसम कार्यालयका प्रमुख आशामपुरा कार्कीका अनुसार हिमपातपछि अत्यधिक चिसो बढी तापक्रम ऋणात्मकतर्फ गएको छ । जसका कारण धाराको पानी जम्न थालेको, मानिसमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढेको, कठ्याङ्ग्रिँदो चिसोका कारण कष्टकर अवस्थासहित स्थानीयको दैनिकी बदलिएको उनले बताए ।

चिसो बढेर जनजीवन कष्टकर बने पनि माघको पहिलो हप्ता हिमपात परेसँगै जुम्लासहित माथिल्लो कर्णालीका किसान खुसी भएका छन् । हिमपात भएपछि हिउँदे बालीलाई निकै राम्रो हुने तिला गाउँपालिका–१ का स्थानीयवासी लंक बुढा बताउँछन् ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले छिट्टै हिउँ परेकाले यस वर्ष गहुँ, जौ, आलुलगायत मुख्य बाली राम्रो भई किसानलाई राहत पुग्ने बताए । उहाँले अहिले स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा त्यसमा सहज भएको उनको भनाइ छ ।

हिमपातपछि जुम्लाका डाँडाकाँडा अहिले सेताम्मे देखिन्छन् । लामो समयपछि हिउँ परेकाले स्थानीय युवायुवती हिउँमा रमाइरहेका छन् । यसैगरी समूह–समूह बनी फोटो खिच्ने र भिडियो खिच्नेहरू पनि त्यतिकै भेटिन्छन् ।