काठमाडौं । पछिल्लो ६ महिनामा झन्डै ६ लाख जना नेपाली कामको खोजीमा विदेशिएका छन् । देशमा आमचुनाव घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् । याे सङ्ख्यामा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् जसमा ४ हजार ८ सय ६६ जना ‘जीटुजी’ (सरकार–सरकार) मार्फत इजरायल, कोरिया र बेलायत गएका छन् ।
व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना र ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
चाडपर्वपछि विदेश जाने क्रम तीव्र हुने गरेको र नयाँ वर्ष तथा निर्माण तथा सेवा क्षेत्रको माग बढ्ने समयमा यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ । खाडी देश, मलेशिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देश पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन् । खाडी र मलेशियामा अझै पनि अदक्ष र अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियामा भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढिरहेको छ ।
५ हजार ७ सय ठगीका उजुरी
नेपालीहरू विदेशिने क्रम बढेसँगै ठगिने क्रम पनि बढिरहेको छ । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणकाअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित ५ हजार ७ सय ६६ वटा उजुरी दर्ता भएका छन् ।
विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५ सय ६८, प्रहरी शाखामा २ हजार ६ सय ३७ र मुद्दा अनुसन्धान शाखामा २ हजार ५ सय ६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९० दशमलव १५ प्रतिशत व्यक्तिगत र ९ दशमलव ८५ प्रतिशत म्यानपावरका उजुरी छन् ।
गएकाे आर्थिक वर्ष २०८१/८२ मा झन्डै ५ हजार वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षमा परेकाभन्दा धेरै उजुरी यस वर्षको ६ महिनामै परेकाे छ । रोजगारीमा जानेहरूको सङ्ख्या बढ्नु, युवाहरू युरोप रोजगारीकाे प्रलोभनमा पर्नु, सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनका कारण नेपालीहरू ठगिने क्रम बढिरहेको विभागका अधिकारीहरू बताउँछन् ।


प्रतिक्रिया