अस्ट्रेलियाका टी–२० विश्वकप विजेता केन रिचर्डसनले लिए क्रिकेटबाट सन्न्यास

अस्ट्रेलियाका टी–२० विश्वकप विजेता केन रिचर्डसनले लिए क्रिकेटबाट सन्न्यास



काठमाडौं । अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर केन रिचर्डसनले व्यावसायिक क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०२१/२२ मा अस्ट्रेलियाले आईसीसी टी–२० विश्वकपको उपाधि जित्दा रिचर्डसन टोलीको हिस्सा थिए ।

‘डेथ ओभर’ अर्थात् अन्तिम ओभरहरूमा योर्कर र तीव्र बलिङका लागि परिचित ३४ वर्षीय केन रिचर्डसनले अस्ट्रेलियाका लागि २५ एकदिवसीय अन्तर्राष्ट्रिय र ३६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले एकदिवसीयमा ३९ र टी–२० मा ४५ विकेट लिएका छन् ।

सन् २०१३ मा श्रीलङ्कासँगको खेलमा एकदिवसीयमा डेब्यु गरेका रिचर्डसनले त्यसको एक वर्षपछि पाकिस्तानसँगको खेलमा टी–२० मा डेब्यु गरेका थिए । उनले विश्वभरका टी–२० लिगहरूमा पनि खेलेका छन् ।