पर्वत । बाँसखर्कका किसान सुन्तलाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । अरू क्षेत्रमा निख्रिएपछि सुन्तला टिप्न थालेका जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका हुन् ।
अरू क्षेत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका थिए । अहिले प्रतिकिलो एक सय ६० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताए ।
पोखरा, काठमाडौं र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न पुगेका छन् । बाँसखर्कका २ सय ३९ मध्ये २ सय घरपरिवारले सुन्तलाखेती गरेका छन् । एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँ बराबरको सुन्तला बेच्छन् ।
बाँसखर्कको १ हजार ५ सय रोपनी जग्गामा सुन्तलाखेती भएको छ । त्यहाँ यसवर्ष २० करोड मूल्यबराबरको सुन्तला उत्पादन हुने अनुमान छ । क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले यसवर्ष उत्पादन बढेको छ ।
बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको हुँदा बाँसखर्क नाम रहेको तर त्यहिँ पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको किसानले बताएका छन् ।
बाँसखर्कबाट २० करोड रुपैयाँसहित पर्वतका विभिन्न गाउँबाट अहिलेसम्म ३२ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको कृषि विकास कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया