घुस रकमसहित भन्सार कार्यालयका अधिकृतसहित तीनजना पक्राउ

घुस रकमसहित भन्सार कार्यालयका अधिकृतसहित तीनजना पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । आइतबार (माघ १८) घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीहरूका साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजालसहितका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस लिएको दसी प्रमाणसहित गोश्वारा हुलाक डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।