पोखरा । पोखरामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ । पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको हो ।
नेपालका लागि सिर्जना बढुवाल र प्रजिता राईले गोल गर्दा भुटानकी सोनाम छोडेनले सान्त्वना गोल गरिन् । खेलको ३६औं मिनेटमा सिर्जनाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । ७९औं मिनेटमा नेपालकी प्रजिताले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
८८औं मिनेटमा भुटानकी सोनामले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । नेपालकी सिर्जना बढुवाल प्लेयर अफ द म्याच घोषित भइन् ।
यसअघि आजै भएको पहिलो खेलमा बंगलादेशले भारतलाई २–० गोलले पराजित गरेको थियो । दुई खेलमा नेपालले पहिलो जित निकाल्दा भुटानले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएका थिए ।
अब बुधबार दिउँसो १२ बजे पहिलो खेल भारत र भुटानबीच हुनेछ । दिउँसो ३ बजे नेपाल र बंगलादेश भिड्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।


प्रतिक्रिया