कञ्चनपुर । भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।
भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच वटा नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ ।
‘नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ’, जोशीले भने, ‘हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखीकरणसमेत गराइएको छ ।’ उनले कोभिड–१९ को समयमा बनाइएका आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको बताए ।
भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएकाले यसको जोखिम पश्चिम नेपालभन्दा पूर्वी नेपालका नाकामा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए ।
महेन्द्रनगरमा रहेकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि अव्यवस्था मिलाइएको प्रमुख रावलले बताए । निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको उनले बताए ।


प्रतिक्रिया