काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न ९ कराेड ५० लाख अमेरिकी डलर अर्थात् १३ अर्ब ९७ कराेड रुपैयाँ बराबरको परियोजना स्वीकृत गरेको छ ।
अमेरिकाकाे वाशिङ्गटन डीसीमा रहेकाे बैंकको प्रधान कार्यालयले आज निकालेकाे विज्ञप्तिमा याे परियोजनाबाट १ लाखभन्दा धेरै साना तथा मझाैला उद्यम लाभान्वित हुने उल्लेख छ । साथै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन शुरू गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) लाई सुदृढ बनाइने बैंकले जनाएकाे छ ।
माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले याे परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार, एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्न सहयोग र निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा योगदान पुग्ने बताएका छन् ।
‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डीपीसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारको निरन्तरता हो ।


प्रतिक्रिया