काठमाडौं । राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबले नव जन जागृति युवा क्लबलाई हराएको छ ।
काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा जवलाखेलले नव जन जागृतिलाई ४–० गोलले हरायो । जावलाखेलका हरिश भट्ट, युवराज ढकाल, धर्बेन्द्र कुँवर र बोउबाखर सिसिकोले गोल गरे ।
प्रतियोगितामा जावलाखेलको यो दोस्रो जीत हो । जावलाखेल ५ खेलमा ६ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । लगातार पाँचौँ हार बेहोरेको जन जन जागृति तालिकाको पुछारमा छ ।
यस्तै ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आजै भएको दोस्रो खेलमा नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
लगातार ४ खेल जितेको एपीएफको यो पहिलो बराबरी हो । एपीएफ ५ खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । एनआरटी ६ खेलमा १३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै दशरथ रङ्गशालामा आजको तेस्रो खेलमा अहिले बेलुकी साढे ६ बजे मनाङ मर्स्याङ्दी र सङ्कटा एफसी खेल्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।


प्रतिक्रिया