आचारसंहिताको पालनामा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह

आचारसंहिताको पालनामा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह



काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति निकालेर आचारसंहिताको पालनामा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेको हो ।

आयोगले चुनावलाई मानव अधिकारमैत्री बनाउन पनि जोड दिएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा मानव अधिकारको अवस्थाबारे सूक्ष्म अनुगमन गरिरहेको भन्दै आयोगले चुनावी प्रचारका क्रममा एक–अर्काप्रति घृणायुक्त आरोप–प्रत्यारोप नलगाउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकाल्नुभएको विज्ञप्तिमा चुनावी प्रचारका क्रममा राजनीतिक दलका केही नेता र उम्मेदवारले एक–अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको उल्लेख छ ।

त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ । अरूको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको पाइएको आयोगले जनाएको छ ।