काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी शुरूआत गरेको छ । हिजो कोलम्बोमा भएको समूह ‘बी’ को खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो ।
जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा १९ ओभर ५ बलमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।
आयरल्यान्डका लागि रस अडिरलले ३४ रन बनाए भने ह्यारी टेक्टरले २३ बलमा ३४ रनको योगदान दिए ।
तर अन्य ब्याटरहरू टिक्न नसक्दा टोली लक्ष्यसम्म पुग्न असफल रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
श्रीलंकाको इनिङ्समा कुशल मेन्डिसले ४३ बलमा ५६ रनको संयमित तर प्रभावशाली इनिङ्स खेले । उनले पाँच चौका प्रहार गर्दै नटआउट रहे ।
त्यस्तै, कमिन्दु मेन्डिसले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा ४४ रन जोडे । उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थिए ।
आयरल्यान्डका बलरमध्ये बेरी म्याकार्टी र जर्ज डकरेलले समान दुई–दुई विकेट लिन सफल भए । विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।
पहिलो खेल इर्डन गार्डेन मैदानमा विहान सवा ११ बजे इटली र स्कटल्याण्डबीच हुनेछ भने दोस्रो खेल दिउँसो सवा ३ बजे कोलम्बोमा ओमान र जिम्बाव्वेबीच हुनेछ ।
आजको तेस्रो खेल बेलुकी सवा ७ बजे क्यानडा र साउथ अफ्रिकाबीच अहमदावादमा हुनेछ ।


प्रतिक्रिया