चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ ।
नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ कायम गरिएको छ ।
यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ रुपैयाँ र मिडियम ४०५ रुपैयाँ रहेको थियो । माघ ११ गते ठूलो अण्डा ४९५ रुपैयाँ र मिडियम ४७५ रुपैयाँ पुगेको थियो ।
गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो ।
मझौलाको ५५० थियो । संघका अध्यक्ष पोखरेलका अनुसार, भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न संघले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उनले जानकारी दिए ।
अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ । लागत मूल्यनजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् ।
संघले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।


प्रतिक्रिया