टी–२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित

टी–२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित



काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित निकाल्ने क्रममा नामिबियालाई सात विकेटले हराएको छ ।

मंगलबार भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा बास डे लिडेले सर्वाधिक ७२ रन बनाए । उनले ४८ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

यस्तै, कोलिन अकरमनले ३२, माइकल लेभिटले २८ र कप्तान स्कट एड्वार्ड्सले १८ रन जोडे ।

नामिबियाका बर्नार्ड स्कल्ज, रुबेन ट्रम्पेलमन र जान निकोल लोफ्टी इटोनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो ।

नामिबियाका जान निकोल लोफ्टी इटोनले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा एक चौका र दुई छक्का प्रहार गरे । यस्तै, जान फ्राइलिन्कले २६ बलमा तीन चौकार एक छक्कासहित ३० रन थपे ।

जेजे स्मिथले २२ र कप्तान गेरहार्ड इरास्मसले १८ रन बनाए ।

नेदरल्यान्ड्सका लोगन भान विक र बास डे लिडेले समान दुई विकेट लिए ।

यस्तै, आर्यन दत्त र फ्रेड क्लासेनले एक–एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । डच टिम यसअघि पहिलो खेलमा पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो । नामिबियाको भने यो पहिलो खेल हो ।