काठमाडौं । ओपनरद्वय टिम सेफर्ट र फिन एलनले कीर्तिमानी साझेदारी गरेपछि न्युजिल्यान्डले आईसीसी टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १० विकेटको सानदार जित निकालेको छ ।
टी–२० विश्वकपको इतिहासमा न्युजिल्यान्डले १० विकेटको जित निकालेको यो पहिलोपटक हो । यस्तै, कुनै पनि टिमले १० विकेटको जित निकालेको यो छैटौँपटक हो ।
यसअघि विश्वकपको इतिहासमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, पाकिस्तान र इंग्ल्यान्डले १० विकेटको जित निकालेका थिए ।
सेफर्ट र एलनले पहिलो विकेटका निम्ति १७५ रनको साझेदारी गरे । टी–२० विश्वकपको इतिहासमै यो हालसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि इंग्ल्यान्डका जस बटलर र एलेक्स हेलले सन् २०२२ को विश्वकपमा भारतविरुद्ध १७० रनको ओपनिङ साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए ।
मंगलबार (माघ २७) भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १७४ रनको लक्ष्य न्युजिल्यान्डले विस्फोटक ब्याटिङ गर्दै १५.२ ओभरमा विकेट नगुमाएर पूरा गर्यो ।
न्युजिल्यान्डको जितमा सेफर्टले ९ रन बनाए । उनले ४२ बलमा १२ चौका र तीन छक्कासहित २११ को स्ट्राइक रेटमा ब्याटिङ गरे । अर्का ओपनर फिन एलनले ५० बलमा पाँच चौका र पाँच छक्कासहित ८४ रन थपे । एलनले १६ को स्ट्राइक रेटमा ब्याटिङ गरे ।
न्युजिल्यान्डविरुद्ध यूएईका कुनै पनि बलर सफल बन्न सकेनन् । यूएईले पाँच बलर प्रयोग गर्दा हैदर अलीको मात्रै रनरेट ११ भन्दा तलको रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो ।
यूएईका कप्तान महोम्मद वसिमले सर्वाधिक ६६ रन बनाए । अलिसन सराफुले पनि अर्धशतक प्रहार गरे ।


प्रतिक्रिया