काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ ।
यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ ।
क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा क्षेत्र आसपास तथा साधु–सन्त बस्ने स्थानमा विशेष सफाइ गरिएको थियो ।
साथै फोहर सङ्कलनलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सरसफाइमा खटिने सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेटसमेत प्रदान गरिएको छ ।
क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै सरसफाइ अभियानमा सक्रिय रूपमा संलग्न हुँदै आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए ।
उनले भने, “महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ, क्रियसन नेपालले आज सरसफाइसहित डस्टबिन र ज्याकेट वितरण गर्नुका साथै आगामी शिवरात्रिमा स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता जनाएको छ ।”
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको कोषले जनाएको छ ।
व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास व्यवस्था, प्रचार–प्रसार तथा समन्वय जस्ता क्षेत्रमा उपसमिति सक्रिय रूपमा खटिएका प्रवक्ता जोशीले बताए ।
महाशिवरात्रिका दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने अनुमान कोषले गरेको छ ।
स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आउने भएकाले भीड व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।


प्रतिक्रिया