महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ



काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ ।

बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो ।

नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिए ।

पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले बताए ।

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए ।

महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने चलन छ ।

आज नागा बाबासहितका साधुसन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिने पनि संस्थानले जनाएको छ ।