कलाकार र इन्फ्लुएन्सरलाई ‘सद्भावना दूत’ बन्न निर्वाचन आयाेगकाे आग्रह

कलाकार र इन्फ्लुएन्सरलाई ‘सद्भावना दूत’ बन्न निर्वाचन आयाेगकाे आग्रह



काठमाडौं । निर्वाचन आयोगले चुनावलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन कलाकार र इन्फ्लुएन्सरहरूको भूमिका निर्णायक हुने बताएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरी कलाकार, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग आज भएकाे भएकाे अन्तरक्रियामा आयोगका सचिव कृष्णबहादुर राउतले लोकतन्त्रको मेरुदण्ड चुनाव भएको बताए ।

सचिव राउतले विगतका चुनावमा कलाकारहरूले पुर्‍याएको योगदानको कदर गर्दै यस पटक पनि मतदाता शिक्षामा रचनात्मक सहयोग गर्न आग्रह गरे ।

उनले सामाजिक सञ्जालमा फैलिने गलत सूचना र अफवाहले लोकतन्त्रलाई कमजोर बनाउने खतरा रहेकाले त्यसलाई चिर्न र सही सूचना प्रवाह गर्न इन्फ्लुएन्सरहरूलाई सक्रिय हुन अनुरोध गरे ।

आयोगले कलाकारहरूलाई कुनै दल वा उम्मेदवारको पक्ष नलिई ‘सद्भावना दूत’ का रूपमा राजनीतिक तटस्थता कायम गर्दै आमनागरिकलाई मतदानका लागि प्रेरित गर्न विशेष जोड दिएको छ ।

आयोगले मतदान गर्ने सही तरिका सिकाउन, मताधिकारको महत्त्व बुझाउन र बदर मतको प्रतिशत न्यूनीकरण गर्न कलाकारहरूको गीत, नाटक र भिडियो सामग्रीहरूले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

चुनावलाई भय र निराशाको सट्टा उत्सव र गौरवका रूपमा मनाउन सचिव राउतले सबैमा आह्वान गरे ।