नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा

नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा



काठमाडौं । नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ ।

श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’ काे खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायाे ।

पाकिस्तानले दिएकाे २०० रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले १७ ओभर ३ बलमा ९७ रन बनाउँदा सबै विकेट गुमायाे ।

नामिबियाका लोरेन स्टीनक्याम्पले सबैभन्दा धेरै २३ रन बनाए । पाकिस्तानका उसमान तारिकले ४, शदाब खानले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । पाकिस्तानका साहिबजादा फरहानले शतक बनाए । फरहानले ५८ बलमा नटआउट १०० रन जोडे ।

नामिबियाका ज्याक ब्रासेलले २ विकेट लिए ।फरहान प्रतियोगितामा शतक प्रहार गर्ने तेस्राे खेलाडी बनेका छन् ।

यसअघि क्यानडाका युवराज सम्रा र श्रीलङ्काका पथुम निसान्काले शतक बनाएका थिए ।

याेसँगै ‘सुपर–एट’ समीकरण पूरा भएकाे छ । यसअघि समूह ‘ए’ भारत ‘सुपर–एट’ मा पुगेको थियाे ।

यस्तै समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड तथा समूह ‘डी’ दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् ।