धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने



काठमाडाैं । सरकारले धादिङमा भएको बस दुर्घटनाको बारेमा छानबनि गर्न समिति गठन गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको बैठकले यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले आउँदा दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षाका लागि बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिए ।

चुनावी सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता घटनाले सुरक्षामा चुनौती थपिन सक्ने खतरा औँल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वक लाग्न सबै सरोकारवालालाई गृहमन्त्रीले आग्रह गरेका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदी नजिकै गएराति भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका २५ जनाको धादिङ र काठमाडाैंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।