प्रसाईंको थुनाबारे सर्वोच्चले झिकायो आयोगको निर्णय फाइल

प्रसाईंको थुनाबारे सर्वोच्चले झिकायो आयोगको निर्णय फाइल



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका अभियन्ता दुर्गा प्रसाईंका विषयमा निर्वाचन आयोगले अनुसन्धानका निम्ति प्रहरीलाई दिएको निर्णयसहितको सक्कल फाइल झिकाएको छ ।

सोमबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आयोगले यही फागुन ४ गते गरेको निर्णय झिकाएको हो ।

आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको ‘फाइल’ सर्वोच्चले प्राप्त गरेपछि मात्र प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको टुंगो लाग्नेछ । उक्त विषयमा उमा प्रसाईंले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

दुर्गा प्रसाईं पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । पछिल्लोपल्ट फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।