काठमाडौं । सरकारले प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पूर्ण रुपमा सुदृढ बनाइएको जानकारी दिएका छन् ।
राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै सरकारका सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख ‘म्यान्डेट’ नै समयमै चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई संवैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्नु रहेको बताए । उनले निर्वाचन आयोगले प्रक्रियागत सबै काम सम्पन्न गरिसकेको र अब मतदानको दिनको कार्यान्वयन मात्र बाँकी रहेको बताए ।
चुनावको आधारभूत आवश्यकता शान्ति–सुरक्षा भएकाले देशभर एकीकृत सुरक्षा योजना लागू गरिएको उनको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका संयन्त्रलाई परिचालन गरी केन्द्र, प्रदेश र जिल्लास्तरमा कमाण्ड पोस्ट स्थापना गरिएको छ ।
दैनिक सुरक्षा समीक्षा र समन्वय बैठकमार्फत सम्भावित जोखिमको विश्लेषण गर्दै आवश्यक रणनीति अपनाइएको गृहमन्त्री अर्यालको भनाइ छ । पछिल्ला दिनमा केही ठाउँमा देखिएका छिटपुट घटनाले चुनावमा कुनै असर नपार्ने उनले स्पष्ट पारे ।
यस्ता घटनालाई नियन्त्रणभित्र राखिएको र संवाद तथा समन्वयमार्फत समाधान गरिएको जानकारी दिँदै उनले शान्तिपूर्ण रूपमा सम्पन्न हुने दाबी गरे । उच्च हिमाली जिल्लाका मतदान केन्द्र सार्ने मागबारे सबै सरोकारवालाको सहमति भए आवश्यक निर्णय गर्न सरकार तयार रहेको गृहमन्त्रीको भनाइ छ ।


प्रतिक्रिया