मिथिलाञ्चलमा होलीको ‘जोगिरा’ परम्परा लोपोन्मुख

मिथिलाञ्चलमा होलीको ‘जोगिरा’ परम्परा लोपोन्मुख



धनुषा । मिथिलाञ्चलमा होलीको अवसरमा गाइने परम्परागत लोकगीत ‘जोगिरा’ लोप हुँदै गएको छ । वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँटोलमा ढोल, मृदङ्ग र डम्फाको तालमा गुञ्जिने जोगिराको स्वर अब सुनिन छाडेको स्थानीयवासीले बताएका छन् ।

जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएकाले परम्परा सङ्कटमा परेको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजका ७२ वर्षीय रामपृत महतोले बताए । युवा पुस्ता वैदेशिक रोजगारीमा जानु, पश्चिमी र डिजे संस्कृतिको बढ्दो प्रभाव तथा सांस्कृतिक हस्तान्तरण हुन नसक्नुलाई यसको प्रमुख कारण मानिएको छ ।

संस्कृतिविद् किशोरी साहका अनुसार होली र सङ्गीतबीच गहिरो सम्बन्ध रहेको छ र सङ्गीतबिना होलीको परिकल्पना गर्न सकिँदैन । तर अहिले परम्परागत भन्दा आधुनिक संगीतको प्रभाव बढेको छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सेतुको रूपमा रहिआएको जोगिरा परम्परा जोगाउन राज्य, पालिका र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको साहको भनाइ छ ।