काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर एट समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित निकालेको छ । हिजो बेलुकी चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो । पराजित भएसँगै जिम्बाबे एक खेलअगावै विश्वकपबाट बाहिरिएको छ ।
भारतले दिएको २ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनमा समेटियो । जिम्बाबेका ओपनर ब्रायन बेनेटले ५९ बलमा ९७ रनको अविजित पारी खेले । कप्तान सिकन्दर राजाले ३१ रन बनाए । भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ५६ रनको विशाल योगफल खडा गरेको थियो । अभिषेक शर्माले ३० बलमा ५५ रन बनाए भने हार्दिक पान्ड्याले २३ बलमा अविजित ५० रन बनाए । तिलक वर्माले १६ बलमा अविजित ४४ रन बनाए । इशान किशनले ३८, सूर्यकुमार यादवले ३३ तथा सन्जु सामसनले २४ रन बनाए ।
जिम्बाबेका लागि रिचर्ड एनगरभा, सिकन्दर राजा, ब्लेसिङ मुजाराबानी र तिनोतेन्दा मापोसाले १–१ विकेट लिए । भारतले अब वेस्ट इन्डिजसँग खेल्न बाँकी छ । त्यो खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
हिजै भएको पहिलो सुपर एटको पहिलो खेलमा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ । यसअघि अर्को समूहबाट इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ । विश्वकप क्रिकेटमा आज इंग्याण्ड र न्युजिल्याण्ड खेल्नेछन् । यो खेल बेलुकी सवा ७ बजे श्रीलंकामा हुनेछ ।


प्रतिक्रिया