काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन भोलि देशभरको मौसम सफा रहने बताएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् । उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र त्यहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताए ।
उनका अनुसार लामो समयसम्म पानी नपरेका कारण देशका पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल वर्षा तथा हिमपातको सम्भावना छैन । भोलि बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरूमा आशिंक बादल लाग्न सक्ने देखिन्छ । पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । आउँदो शनिवारसम्मको मौसम सफा रहने पौडेलको भनाइ छ ।
निर्वाचन आयोगकाअनुसार पर्सि शुक्रवारसम्मै सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइसक्छ । त्यसैले मतदान र मतपेटिका सङ्कलन दुवै कार्यमा मौसमले असर नगर्ने देखिएको छ ।


प्रतिक्रिया