बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक

बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक



काठमाडौं । सेभियाविरुद्ध ५–२ को सहज जित निकाल्दै लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगामा रियल मड्रिडसँगको अंक दूरी बढाएर ४ मा पुर्‍याएको छ ।

आइतबार क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक गर्दा ड्यानी ओल्मो र जाआओ कान्सेलोले १–१ गोल थपे । सेभियाका लागि ओसो र जिब्रिल सले १–१ गोल फर्काए ।

खेलको नवौं मिनेटमा राफिन्हाको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २१औँ मिनेटमा राफिन्हाले नै टोलीको अग्रता दोब्बर बनाए । यसपटक पनि उनले पेनाल्टी अवसर सदुपयोग गरे ।

ओल्मोले गोल गर्दा ३८औँ मिनेटमा बार्सिलोना ३–१ ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा ओसोले सेभियाका लागि पहिलो गोल फर्काए ।

राफिन्हाले ५१औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जारी सिजनको ला लिगामा राफिन्हाको यो पहिलो ह्याट्रिक हो ।

कान्सेलोले ६०औँ मिनेटमा गोल गर्दा बार्सिलोना ५–१ ले अगाडि बढ्यो । खेलको इन्जुरी समयमा सले सेभियाका लागि दोस्रो गोल गरे ।

घरेलु मैदानमा बार्सिलोनाको यो लगातार १२औँ जित हो । जितसँगै बार्सिलोनाले २८ खेलमा ७० अंक जोडेको छ । बार्सिलोनालाई पछ्याइरहेको रियलको ६६ अंक छ । यता पराजित सेभिया २८ खेलबाट ३१ अंकका साथ १४औँ स्थानमा छ ।