काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइएको छ ।
निर्वाचन आयोगले आज कार्यालयमा कार्यक्रम गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराएको हो ।
प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र पाएका थिए ।
समानुपातिकतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४/४ जना सांसद निर्वाचित भएका छन् ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र एक स्वतन्त्र उम्मेदवारले एक/एक सिट जितेका छन् ।
प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित भई कुल २७५ सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन आजै राष्ट्रपति समक्ष पेश गर्ने भएको छ । अब केहिबेरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाइने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिए ।


प्रतिक्रिया