काठमाडौं । राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित भएको छ । पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै राष्ट्रिय लिग स्थगित गरेको हो ।
लिगमा सहभागी १७ वटा क्लबलाई पत्राचार गर्दै एन्फाले अर्काे सूचना प्रकाशन नभएसम्मका लागि ३८ वटा खेल स्थगित गरेको जानकारी गराएको छ । एन्फाको आयोजनामा राष्ट्रिय लिग गएको पुस ३० गतेदेखि सञ्चालन भएको थियो ।
यसअघि अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एनफालाई पत्राचार गरेको थियो । पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई नियम विपरीत खेलाइएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
पर्यटकीय भिसामा रहेका खेलाडीहरू एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरुष लिग खेलेको भन्ने उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई पत्राचार गरेको हो ।



प्रतिक्रिया