काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
काभ्रे पुगेका नेता पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताए । विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो ।
जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले गर्ने दाबी गरे ।
आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे ।
उनले भने, ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । त्यसै गरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंस गर्नेको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो । हामी पुरानो हौँ, तर उस्तै खालका पुराना होइनौँ । हामीले अवस्था बदल्न कोसिस गरेकै हौँ । फेरि जनतामा जान्छौँ ।’
उनले कुनै अहङ्कार, विचलन, निराशा नभई शहीदहरूको बलिदानलाई आत्मसात गर्दै नयाँ ढङ्गले धुलो टक्टकाएर उठ्ने सङ्कल्प पार्टीले गर्नुपर्ने बताए ।
पुनले थपे, ‘१० वर्षे जनयुद्धका बेला पनि धेरै पटक ठूलठूला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौँ । हाम्रो अहिलेसम्मको विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली, तौरतरिकाहरूलाई एकपटक ठन्डा दिमागले पुर्नमूल्यांकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’


प्रतिक्रिया