काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरूले समेत घण्टीमा भोट हालेको रिपोर्ट आएको बताएका छन् ।
बिहीबार जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा बोल्दै रिपोर्ट हेरेर घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्यलाई कारबाही गरेर पार्टी पुनर्गठनको अभियान सुरुआत गर्ने बताए ।
उनले भने, ‘झन्डै ५० प्रतिशतले घण्टीमा भोट हाले भन्ने रिपोर्ट छ । सबभन्दा बढी तपाईँहरूको जनवर्गीय सङ्गठनको केन्द्रीय नेताहरूले नै घण्टीमा भोट हालेछन् । केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईँहरूको जनवर्गीय सङ्गठनको केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्, कसले भोट हालेनन्, कसले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईँहरूले दिनैपर्यो हामीलाई। तिनलाई कारबाही गर्नैपर्छ, नत्रभने पार्टी बनाउन सकिँदैन ।’
उनले चुनावी समीक्षासहितको रिपोर्ट आउने क्रम जारी रहेको समेत बताए ।
उनले थपे, ‘हामीले भनेका छौँ ठोस प्रमाणसहित ल्याउनुस्, को कोले हालेन, कोको घण्टीतिर गएको देखियो । तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौँ । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो। नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो। निर्वाचन परिणाम पछिको सुझाव, आलोचना पार्टीको सचिवालय वा पार्टीको सबभन्दा आधिकारिक संस्थागत निर्णय गर्ने ठाउँमा प्रस्ताव बनाएर लान्छौँ ।’
उनले अब पार्टी कमिटीहरू चुस्त दुरुस्त बनाउने समेत बताए । उनले रास्वपाले धेरै भोट ल्याउनुमा राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै आयामहरू जोडिएको बताए ।


प्रतिक्रिया