काठमाडौं । खाडीका देशमा युद्ध चर्किंदा ३६ नेपालीका शव उतै रोकिएका छन् । साउदी अरेबिया, कतार, कुवेत, र संयुक्त अरब इमिरेट्स (यूएई)मा विभिन्न कारणले ज्यान गुमाएका ३६ नेपालीका शव उतै रोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यूएईमा १६, कुवेतमा ७, साउदीमा ६, र कतारमा ७ वटा शव रोकिएका छन् । युद्धको असर उडानमा पर्दा त्यहाँ ज्यान गुमाउने नेपालीका शव नेपाल ल्याउन नसकिएको हो ।
उनीहरूको युद्धका कारणले नभई सडक दुर्घटनालगायत विभिन्न कारणले ज्यान गएको हो । युद्धकै कारण यूएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको शव भने यसअघि नै नेपाल आइसकेको छ ।
कुवेतको हवाई आकाश अहिले पनि बन्द छ । दुई हप्ताभन्दा लामो समय बन्द रहेको कतारको आकाश सीमित मात्रामा मात्रै खुलाइएको छ । काठमाडाैं-दोहा निश्चित संख्यामा मात्रै उडान भइरहेको छ ।
यूएईबाट भने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाई दुबई र एयर अरेबियाले पनि उडान भरिरहेका छन् । साउदीबाट पनि सामान्य रूपमा जस्तो उडान नभएकाले त्यहाँ ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन केही ढिलाइ भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया