लिपुलेक हुँदै सीमा व्यापार शुरू गर्ने भारत र चीनको तयारी

लिपुलेक हुँदै सीमा व्यापार शुरू गर्ने भारत र चीनको तयारी



काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि शुरू गर्ने तयारी गरेका छन् ।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो ।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी शुरू भइसकेको पीटीआईले दाबी गरेको छ ।

स्थानीयवासीले पुलाङ–गुञ्जी भन्ने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रमा रहेकाे तीन वटा गाउँमध्ये एक हो । अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।

भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार फेरि शुरू हुन लागेको हो ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुनः शुरू गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिनुभएको खबरमा उल्लेख छ ।

नेपालले आफ्नो आधिकारिक नक्सामा महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेको छ ।