काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपालको राजनीतिक इतिहासमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को योगदान अतुलनीय रहेको र यसलाई अलग राखेर हेर्ने हो भने देशको इतिहास नै अधुरो हुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै घिमिरेले संगठनको ऐतिहासिक गरिमालाई कसैले पनि कम आँक्न वा विस्मृतिमा धकेल्न नसक्ने स्पष्ट पारेका हुन् ।
वि.सं. २०२७ सालको पञ्चायती व्यवस्था विरुद्ध विद्यार्थीलाई गोलबद्ध गर्दै प्रजातन्त्रको पुनःस्थापनामा नेविसंघले खेलेको भूमिका कतिपय सन्दर्भमा मातृ पार्टीको भन्दा पनि बढी बलिदानपूर्ण रहेको उनको तर्क छ ।
पछिल्लो समय मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ राजनीतिक दलहरूको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका झन् सशक्त र प्रभावकारी हुनुपर्नेमा घिमिरेले जोड दिए ।
नेपालमा ४० वर्ष मुनिका झन्डै १ करोड २० लाख युवा जनमत रहेको तथ्यलाई औँल्याउँदै उनले कुनै पनि राजनीतिक दलले यो ठुलो युवा शक्तिलाई उपेक्षा गर्नु मूर्खता हुने चेतावनी दिए ।
नयाँ पुस्ताको चाहना र बदलिँदो राजनीतिक परिवेश अनुसार भ्रातृ संस्थाहरूलाई अगाडि बढाउनु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ ।
कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्ने विषय पार्टीको अधिकार क्षेत्रभित्र पर्ने भए पनि नेविसंघ जस्तो गौरवशाली संस्था पार्टीको सन्तान जस्तै रहेको घिमिरेले उल्लेख गरे ।
उनले समयको माग अनुसार विलम्ब नगरी नेविसंघ लगायत नेपाल तरुण दल र नेपाल महिला संघ जस्ता अन्य भ्रातृ संस्थाहरूका विषयमा पार्टीले छिट्टै संस्थागत निर्णय गर्ने जानकारी दिए । ती संस्थाहरूलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न पार्टीले ठोस मार्गनिर्देश गर्ने र सांगठनिक रिक्ततालाई अन्त्य गर्ने तयारी भइरहेको उनले दाबी गरे ।
नेविसंघका आस्थावान् कार्यकर्ताहरूको टोलीले सिनेट बैठकको नाममा पछिल्लो समय भएका गतिविधिहरू अवैधानिक रहेको आरोप लगाउँदै पार्टीको ध्यानाकर्षण गराएको छ ।
वर्तमान नेतृत्वले गणपूरक सङ्ख्याको न्यूनतम उपस्थिति समेत नभएको अवस्थामा बैठक बसेर निर्णय गर्नु संगठन र पार्टी दुवैको गरिमा विपरीत भएको उनीहरूको ठहर छ ।
यस्ता गतिविधिले संगठनलाई कमजोर बनाउने भन्दै कार्यकर्ताहरूले नेतृत्वलाई सच्चिन आग्रह गरेका छन् भने महामन्त्री घिमिरेले यस्ता गतिविधिहरूलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको आश्वासन दिएका छन् ।


प्रतिक्रिया