काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ओपनिङ ब्याटर आसिफ शेखले शतक प्रहार गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका आसिफले ८८ बलमा शतक पूरा गरे ।
आसिफ खेलमा ११४ रन बनाएर आउट भए । उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघि आसिफका ओपनिङ पार्टनर दीपक बोहरा भने ३ रनमा आउट भएका थिए ।
यस्तै कप्तान रोहितकुमार पौडेलले भने ९ रन मात्र जोड्न सके ।
एपिएफका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । जोराले ५३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाए ।
सुमित महर्जन १८ रनमा आउट हुँदा अमरसिंह रौटेलालले १ रन मात्र जोड्न सके ।
यता तल्लो मुलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल भइहरेको छ । प्रतियोगिता शनिबारदेखि सुरु भए पनि वीरगञ्ज र जनकपुर दुवै स्थानका खेल वर्षाले रद्द भएका थिए ।


प्रतिक्रिया