प्रतिनिधिसभामा निर्वाचित जेष्ठ सदस्य केसीको शपथ सोमबार

प्रतिनिधिसभामा निर्वाचित जेष्ठ सदस्य केसीको शपथ सोमबार



काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार हुने भएको छ । केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ ।

संघीय संसद सचिवालयले १२ चैत दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ ।

उनीहरूलाई केसीले शपथ खुवाउनेछन् । केसीले प्रतिनिधिसभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नेछन् ।