सभापति गगन थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत

सभापति गगन थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिएको राजीनामालाई आइतबार सम्पन्न बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपास्थित पार्टी मुख्यालयमा चैत ६ गतेदेखि सुरु भएको बैठकले वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाकै नेतृत्व आवश्यक रहेको ठहर गरेको छ ।

प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन पराजयको प्रमुख कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रणबाहिरको परिस्थिति रहेको बैठकको निष्कर्ष छ । राजीनामा स्वीकृत गर्दा पार्टीमा अस्थिरता र अन्योल बढ्ने भएकाले ‘कांग्रेस २.०’ अभियानलाई निरन्तरता दिन राजीनामा अस्वीकार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ । समीक्षाअनुसार आन्तरिक गुटबन्दी, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, पुराना शक्तिप्रति जनआक्रोश र डिजिटल माध्यममा नयाँ शक्तिहरूको प्रभावका कारण कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको ठहर गरिएको छ ।

अब पार्टीको सम्पूर्ण ध्यान १५ औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र साङ्गठनिक पुनर्संरचना गरिने कांग्रेसले जनाएको छ ।