चितवनमा साउनयता १७ गैँडा मरे

चितवनमा साउनयता १७ गैँडा मरे



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउनयता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, यस आर्थिक वर्षमा बाघ चारवटा, हात्ती तीनवटा र १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही दुई–दुईवटा, अजिंगर, सुन गोहोरो एक/एकवटा र अन्य वन्यजन्तु चारवटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् ।

ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन् । यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी सिकारीको निसानाबाट वन्यजन्तु जोगाउन सकिएको उनले बताए । समुदारस्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी सिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।