इरानविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीपछि एशियाली शेयर बजारमा उच्च गिरावट

इरानविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीपछि एशियाली शेयर बजारमा उच्च गिरावट



काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएसँगै भारतसहित एशिया–प्यासेफिक क्षेत्रका शेयर बजारमा उच्च गिरावट आएको छ भने कच्चा तेलको मूल्य पनि बढेको छ ।

शनिवार ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग सञ्चालन नगरे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण हुने धम्की दिएका थिए । तर इरानले उल्टै हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने र पश्चिम एशियाका ऊर्जा तथा खानेपानी पूर्वाधारमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

बीबीसी हिन्दीका अनुसार आज बम्बई स्टक एक्सचेञ्जको सेन्सेक्स झन्डै १ हजार ८ सय अंकले र नेशनल स्टक एक्सचेञ्जको निफ्टी ५ सय ९० अंकसम्म घटेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर बिन्दु, १ डलर बराबर ९३.८४ रुपैयाँमा झरेको छ ।

जापानको निक्केई ४.८ प्रतिशत र दक्षिण कोरियाको कोस्पी साढे ५ प्रतिशतभन्दा बढीले घटेको छ । कच्चा तेल आज १ सय ७ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ ।

हर्मुज जलमार्गमा अवरोध कायमै रहेमा मूल्य २ सय डलर प्रतिब्यारेलसम्म पुग्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । यो मार्गबाट विश्वको कुल तेल खपतको झन्डै २० प्रतिशत आपूर्ति हुन्छ ।