पीएम कप : लुम्बिनीले कोशीलाई १ सय १ रनको फराकिलो अन्तरले हरायो

पीएम कप : लुम्बिनीले कोशीलाई १ सय १ रनको फराकिलो अन्तरले हरायो



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई हराएको छ । आज भएको खेलमा लुम्बिनीले कोशीलाई १ सय १ रनको फराकिलो अन्तरले हराएको छ ।

लुम्बिनीले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कोशी ३१ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अलआउट भयो । कोशीका अङ्कित सुवेदीले ३० रन बनाए । लुम्बिनीका सन्तोष यादवले ४, राजेन्द्र बमले ३ र निर्मल गुरुङले २ विकेट लिए ।

त्यसअघि जनकपुरधाममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी ४९ ओभर ३ बलमा २ सय ४९ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका कप्तान देव खनालले ९२ र सन्तोष यादवले ४८ रन बनाए । कोशीका सुजन थपलियाले ४ र दिपेश कँडेलले २ विकेट लिए ।

प्रतियाेगिताअन्तर्गत आजै वीरगञ्जमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ ।

खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा हुनेछन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।