पीएम कप : बागमती र पुलिस फराकिलो अन्तरले विजयी

पीएम कप : बागमती र पुलिस फराकिलो अन्तरले विजयी



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब फराकिलो अन्तरले विजयी भएका छन् ।

तल्लो मूलपानी मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १७० रनले हरायो । बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभर ५ बलमा सबै विकेट गुमाएर १२४ रनमात्र बनाउन सक्यो ।

गण्डकीका अर्जुन कुमालले ७४, सुवास भण्डारीले २९ रन बनाए । बागमतीका रिजन ढकालले ३ तथा कप्तान सन्दीप लामिछाने र ईशान पाण्डेले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो । बागमतीका ईशान पाण्डेले ७१, आशुतोष घिरैयाले ५९ रन बनाए । गण्डकीका कमल परियारले २ विकेट लिए ।

यस्तै मूलपानी मैदानमा भएको खेलमा पुलिसले एपीएफलाई १८५ रनले हराएको छ । पुलिसले दिएको ३५६ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा १७० रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका नन्दन यादवले नटआउट ४४, कमल ऐरीले ३५ रन बनाए । पुलिसका ललित राजवंशीले ३ तथा करण केसी, रशिद खान र दिनेश खरेलले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनायो । पुलिसले पीएम कप इतिहासकै धेरै रन बनाएको हो । यसअघि सन् २०१८ मा कीर्तिपुरमा मधेश प्रदेशसँगको खेलमा एपीएफले ३३९ रन बनाएको थियो ।

पुलिसका शङ्कर रानाले ६१, दिनेश खरेलले ६०, दिलसाद अलीले नटआउट ५१, कप्तान आरिफ शेखले ५० रन बनाए । एपीएफका कमल ऐरी र अमर रौटेलाले २/२ विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेकाे प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा हुनेछन् ।