प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र विवादरहित रूपमा सम्पन्न भयो : आयोग

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र विवादरहित रूपमा सम्पन्न भयो : आयोग



काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई देशको निर्वाचन इतिहासमै शान्तिपूर्ण तथा विवादरहित रूपमा सम्पन्न भएको बताएको छ ।

बुधबार आयोगद्वारा आयोजित जलपान कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन समग्रमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै कुनै पनि मतदान केन्द्रमा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रक्रियामा देखिएको व्यवस्थापन र सहभागी पक्षहरूको संयमताले परिणामलाई विश्वसनीय बनाएको छ ।

भण्डारीले निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा मतदाताले देखाएको अनुशासन र संयमको प्रशंसा गर्दै यसलाई सफल जेड आन्दोलनपछि करिब छ महिनाभित्र निर्वाचन सम्पन्न हुनुलाई अन्तर्राष्ट्रिय समुदायले पनि सकारात्मक रूपमा लिएको छ ।

उनले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको जानकारी समेत दिए । आयोगका अनुसार यस निर्वाचनले लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वास थप सुदृढ बनाउन योगदान पुर्‍याएको छ ।