काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लिपुलेक र लिम्पियाधुरा नेपालको भू-भाग भएको उल्लेख गर्दै त्यस क्षेत्रमा हुने कुनै पनि अतिक्रमणलाई स्वाभाविक रूपमा स्वीकार गर्न नसकिने धारणा व्यक्त गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकका क्रममा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त विषयको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिए । उनका अनुसार अहिलेसम्म प्रभावकारी कूटनीतिक प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको र विषयलाई प्राय: सार्वजनिक अभिव्यक्ति तथा सामाजिक सञ्जालमा सीमित गरिएको देखिएको छ ।
महामन्त्री पौडेलले राज्य पक्षबाट ठोस र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस दिशामा सक्रियता देखाए काँग्रेसले आवश्यक सहयोग गर्न तयार रहने बताए ।
उनले सीमासम्बन्धी विषयलाई संवेदनशील रूपमा सम्बोधन गर्दै दीर्घकालीन समाधानका लागि संस्थागत र प्रभावकारी कूटनीतिक संयन्त्र प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।


प्रतिक्रिया