काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तकको छपाइ पूरा गरी बिक्री वितरणको तयारी शुरू गरेको छ ।
केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनु भएका शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले प्रतिनिधिसभा चुनावको मतपत्र छपाइका बाबजुद पाठ्यपुस्तक छपाइ कार्य हुँदै आएकाले शैक्षिक सत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाएको बताए ।
मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको कामलाई सँगसँगै गरेको केन्द्रले शैक्षिक सत्र २०८३ का लागि १ हजार २६० अधिकृत बिक्रेता चयन गरेको छ ।
यही चैत १५ गतेदेखि बिक्रीको तयारी गरेको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रलाई तोकिएका कक्षाहरूका लागि झन्डै ४५ लाख विद्यार्थीका लागि अनुवाद पुस्तक र ऐच्छिक विषयसमेत गरी कुल एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य रहेकामा धेरैजसाे पुस्तक छपाइ भइसकेको छ ।
केन्द्रले यही चैत १९ देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने ५ लाख २० हजार विद्यार्थीका लागि आवश्यक प्रश्नपत्र पनि उत्पादन गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकेको छ ।


प्रतिक्रिया