काठमाडौं । नेपाल बार एसोसिएसनले गएको भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ ।
आफ्नो क्षेत्राधिकारबाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बारले आज (चैत १२) दिउँसो १ः३० बजे सल्लाहकार समिति बैठक पनि बोलाएको छ ।
बारका महासचिवमा केदारप्रसाद कोइरालाले भने, “न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक असर पुग्ने गरी प्रतिवेदन आएको छ, यसमा हाम्रो असहमति छ । यसबारे कानुन व्यवसायीबीच गम्भीर छलफल हुनेछ ।”
न्यायलाई ‘वकिलको स्वर्ग’ हुनबाट बचाउनुपर्नेलगायत विषय प्रतिवेदनमा उल्लेख छ ।
“सर्वसाधारणको न्यायमा पहुँच नहुनु, नेपाली नागरिकले सुलभ तरिकाले न्याय पाउन सक्ने स्थिति छैन भनिन्छ । पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ । पक्षको तर्फबाट बहस गर्नुपर्ने वकिल त यति खर्चिला छन् कि साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असुल गर्दछन्,” प्रतिवेदनमा भनिएको छ ।


प्रतिक्रिया