काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग निष्पक्ष छानबिनका निम्ति नबनेको पुष्टि भएको बताएका छन् । आयोगको प्रतिवेदनबाटै यस्तो पुष्टि हुने उनले टिप्पणी गरेका हुन् ।
‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित आयोग र आमनिर्वाचनलाई उनले ‘अल्गोरिदम’मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयासका रूपमा चित्रण गरेका छन् ।
“कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । कार्की आयोग र आमनिर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सोहीअनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।”
निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उनले बताएका छन् । अबको बाटो सहज नहुन सक्ने उनले उल्लेख गरेका छन् ।
“अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ,” उनले भनेका छन्, “अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।”
उनले अगाडि लेखेका छन्, “यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुनसक्छ ।”
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद वर्तमान चुनौतीको समाधानको बाटो नभएको उनले टिप्पणी गरेका छन् । “र, विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन,” उनले लेखेका छन् ।


प्रतिक्रिया