काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा



काठमाडौं । देशभर मौसम बदली भई काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ । अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि मौसम बदली रही वर्षा हुने जानकारी दिए। उनका अनुसार पछिल्लो एक घण्टामा करिब ५० मिलीमिटर वर्षामापन केन्द्रमा वर्षा मापन गरिएको छ ।

त्यसमध्ये सबैभन्दा बढी सङ्खुवासभामा २७ मिलीमिटर र नुवाकोटमा २६ मिलीमिटर वर्षा भएको सूचना अधिकारी कायस्थले जानकारी दिए। लमजुङमा १७, चितवनमा छ दशमलव चार, म्याग्दीमा छ दशमलव चार, कास्कीमा सात दशमलव आठ, तनहुँमा सात दशमलव दुई मिलीमिटर वर्षा भएको छ ।

पछिल्लो तीन घण्टामा भने म्याग्दी र सङ्खुवासभामा भारी वर्षा भएको जनाउँदै कायस्थले म्याग्दीमा ६० मिलीमिटर र सङ्खुवासभामा ५० मिलीमिटर वर्षा भएको बताउनुभयो । उहाँका अनुसार देशभरको मौसम बदली भएको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । विभागले आज जारी गरेको बुलेटिनमा आज राति देशका हिमाली भूभागमा आंशिक बादल तथा कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईका बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

सोही कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।

शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।