काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।
एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग समेत गरेको छ । बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको एमालेले जनाएको छ । साथै, नागरिक समाज र आम नागरिकसँग सहकार्य गर्ने निर्णय पनि भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएपछि प्रहरीले आज बिहान एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो ।
एमालेले गरेका निर्णयहरु
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने ।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।


प्रतिक्रिया