आईपीएल क्रिकेटमा आरसीबीको विजयी शुरुवात

आईपीएल क्रिकेटमा आरसीबीको विजयी शुरुवात



काठमाडौं । हिजोदेखि शुरु भएको १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले विजयी शुरुवात गरेको छ ।

घरेलु मैदान चेन्नास्वामी स्टेडियममा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

आरसीबीका लागि विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।

हैदराबादका कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन जोडे । आरसीबीका ज्याकब डफी र रोमारियो शेफर्डले समान ३ विकेट लिए ।

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।