काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सोमबार पार्टीका पदाधिकारीसहितका नेताहरू सडकमा ओर्लिएका छन् । आज माइतीघरबाट सुरु भएको प्रदर्शनमा पार्टीका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र डा.राजन भट्टराईसहितका नेताहरू सहभागी भएका हुन् ।
गत शनिबार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई आफ्नै निवास गुण्डुबाट पक्राउ गरिएको थियो । पक्राउपछि सोही दिनदेखि एमालेले निरन्तर विरोध प्रदर्शन गरिरहेको छ । आजको प्रदर्शन उपत्यका विशेष कमिटीले आयोजना गरेको एमालेले जनाएको छ ।
यसैबीच आन्दोलनस्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै सचिव शेरधन राईले देशलाई मुठभेडमा धकेलेर युक्रेन बनाउने खोजिएको बताएका छन् । राईले सरकारले राजनीतिक प्रतिशोध राखेकोले आफूहरू सडकमा आउन बाध्य भएको उल्लेख गरे ।
जनादेशको उन्मादमा सरकारले मुलुकलाई मुठभेडतिर धेकेलेको उनले बताए ।


प्रतिक्रिया