काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच सोमबारसाँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ ।
भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे विस्तृत छलफल भएको बताइएकाे छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कसैको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन् । ऋण दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणमा हुने गलत अभ्यासविरुद्ध कडा कारबाही गर्न नडराउन पनि उनले भनेका छन् ।
छोटो समयमा धेरै परिणाममुखी काम गर्नुपर्ने भएकाले समस्या कहाँ छन् र समाधान के हुन सक्छ भन्ने स्पष्ट बुझाइ बनाउन पनि प्रधानमन्त्री बालेनले गभर्नरलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आर्थिक विकासलाई गति दिन गभर्नरबाट ठोस सुझाव अपेक्षा गरेको र नियुक्ति वा अन्य विषयमा चिन्ता नगरी निर्धक्क भएर काम गर्नसमेत भनेका छन् ।
साथै, अमेरिका–इजरायल–इरानबीचको द्वन्द्वले नेपाली अर्थतन्त्रमा पार्न सक्ने असरबारे पनि अध्ययन गर्न निर्देशन दिएका छन् ।
जवाफमा गभर्नर पौडेलले सरकारको खर्च हुन नसक्ने समस्या हटाउन ठूला पूर्वाधार आयोजना मार्फत आर्थिक गतिविधि चलायमान बनाउन सकिने प्रधानमन्त्रीलाई बताएका छन् ।
उनका अनुसार काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरी भारतसँग जोड्ने सम्भावना रहेको छ भने काठमाडौं–पोखरा फास्टट्रयाक निर्माण पनि अघि बढाउन सकिनेछ । यस्ता परियोजनामा पहिलो वर्ष २०–३० अर्ब रूपैयाँसम्म खर्च गर्न सकिने उनको भनाइ छ ।
रेमिटेन्स र वित्तीय सूचकांकलाई आधार बनाएर सार्वजनिक वित्त सुधार गर्न नेपाल राष्ट्र बैंकले सहयोग गर्न सक्ने उनले बताए । २–३ वर्षभित्र ठूला परियोजना सम्पन्न गर्न सकिएमा आर्थिक नतिजा दिन सकिने विश्वास समेत उनले व्यक्त गरे ।


प्रतिक्रिया