एमाले संसदीय दलको नेतामा सुहाङकाे दाबी

एमाले संसदीय दलको नेतामा सुहाङकाे दाबी



काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा युवा सांसद सुहाङ नेम्वाङले दाबी पेस गरेका छन् । बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

‘संसदीय दल नेतामा मेरो दाबी छ, पार्टीका सिनियर नेताहरू पनि सांसद हुनुहुन्छ तर यसपालि पहिलेजस्तो परिस्थिति छैन, पार्टीमा युवाहरूलाई जोड्नुपर्नेछ’, बैठकमा नेम्वाङले भने, ‘त्यसका लागि मैले भूमिका खेल्न सक्छु भन्ने लाग्छ ।’

उनले बैठकमा थप भने- ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ’

उनले आफ्नो भनाइ अग्रजहरूले गर्न नसक्ने भन्ने नरहेको पनि प्रष्ट पारेका छन् । पार्टीले नै अवलम्बन गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने कुरा उनले नेतृत्वलाई स्मरण गराएका छन् ।

बादलको अध्यक्षतामा जारी बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेता सहभागी छन् ।